आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरूसँग अर्थ मन्त्रीको छलफल

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेका छन्। 

पूर्व अर्थमन्त्रीहरूले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरू थप नगर्न सुझाव दिएका छन्।

छलफलमा पूर्व अर्थमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए। 

छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे।

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरूलाई मात्र बजेट छुट्याउने र निजी क्षेत्रको आत्म विश्वास बढाउन आफू लागि परेको जानकारी गराए।

साथै, उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए। अर्थमन्त्री महतले अन्य पूर्व अर्थ मन्त्रीहरूबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे।

प्रतिक्रिया गर्नुहोस्

छुटाउनुभयो कि ?